बांसबारीमा रहेको तीन तले भवन ४० मिटर तल धकेलियो,संगैका दुईटा घर उच्च जोखिममा



काठमाडौं,५ भदौ । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको भवनसँगै जोडिएको भिरालो जमिनमा सञ्चालित होटल तथा लजको तीनतले भवन पहिरोले बगाउँदा करिब ४० मिटर तल धकेलिएको छ। भदौ ४ गते राति करिब १०ः३० बजे परेको वर्षाका कारण भिरालो जमिनको माटो बगेर पहिरो गएपछि होटलको भवन तल झरेको हो।

पहिरोका कारण भवनमा क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन। तर, उक्त भवनसँगै जोडिएको अर्को होटल तथा लजको भवन र विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको भवनसमेत उच्च जोखिममा परेका छन्।
स्थानीय क्षेत्रमा ठूलो वर्षा तथा निरन्तर झरी परिरहेमा भिरालो जमिन थप कमजोर भई पहिरो विस्तार हुन सक्ने र त्यसको चपेटामा आसपासका अन्य भवनसमेत पर्न सक्ने जोखिम देखिएको छ। विशेषगरी पहिरो गएको स्थानसँगै जोडिएका दुई भवन तत्काल जोखिममा रहेकाले सम्भावित दुर्घटना रोक्न ती भवन खाली गराउनुपर्ने अवस्था देखिएको स्थानीयको भनाई छ ।

सम्बन्धित निकायले घटनास्थलको तत्काल स्थलगत निरीक्षण गरी पहिरोको जोखिम मूल्यांकन गर्नुपर्ने देखिएको उनीहरू बताउँछन् । उनीहरुले थप वर्षा हुनुअघि जोखिममा रहेका भवनमा बसोबास तथा होटल सञ्चालन गरिरहेका व्यक्तिलाई सुरक्षित स्थानमा सार्नुका साथै पहिरो रोकथामका लागि आवश्यक प्राविधिक उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।

भिरालो जमिनमा थप पानी जम्मा हुने अवस्था रहेमा पहिरो अझ फैलिन सक्ने भएकाले सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्