बागमती प्रदेशबासीको विश्वासलाई कहिल्यै निराश हुन नदिने मुख्यमन्त्री थापामगरको प्रतिबद्धता
हेटौंडा,४ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशको सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिँदै थापामगरले आफूले एउटा पदको मात्र शपथ नलिएको, लाखौँ बागमती प्रदेशवासीको आशा, अपेक्षा र सपनाको जिम्मेवारीसमेत बोकेको बताएका हुन्।
उनले प्रदेशवासीले दिएको विश्वासलाई आफ्नो शक्ति र जनताको अपेक्षालाई मार्गदर्शन बनाएर सुशासनलाई व्यवहारमा, विकासलाई परिणाममा र सरकारलाई जनताले अनुभूति गर्ने अवस्थामा रूपान्तरण गर्ने दृढ संकल्प व्यक्त गरे।
‘बागमतीको समृद्धि कुनै भाषणको विषय होइन, हाम्रो साझा कर्म र देखिने परिणामको यात्रा हो,’ उनले भनेका छन्।
मुख्यमन्त्री थापामगरले समयको सदुपयोग गर्दै इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्। प्रदेशवासीको सुझावलाई सम्मान, खबरदारीलाई मार्गदर्शन र साथलाई शक्तिका रूपमा लिएर सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ।
उनले समुन्नत, सुशासित, आत्मनिर्भर र गौरव गर्न लायक बागमती प्रदेश निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।
‘यो पद मेरो लागि सम्मानभन्दा बढी जिम्मेवारी हो, अधिकारभन्दा बढी कर्तव्य हो र अवसरभन्दा बढी जनसेवाको संकल्प हो,’ मुख्यमन्त्री थापामगरले भनेका छन्।
बागमती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने यात्रामा आजैदेखि अघि बढ्ने उनले बताएका छन्।
मुख्यमन्त्री थापामगरले शपथ ग्रहणको अवसरमा आफूलाई विश्वास, साथ, शुभेच्छा र हौसला प्रदान गर्ने राजनीतिक नेतृत्व, प्रदेशसभा सदस्य, नेता–कार्यकर्ता तथा बागमती प्रदेशका आमाबुबा, दिदीबहिनी र दाजुभाइप्रति आभार व्यक्त गरेका छन्।
उनले प्रदेशवासीको विश्वासलाई कहिल्यै निराश हुन नदिने प्रतिबद्धतासहित सम्पूर्ण बागमती प्रदेशवासीप्रति पुनः धन्यवाद तथा नमन व्यक्त गरेका छन्।

