सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको आग्रह



काठमाडौं,४ भदौ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई नेपालमा उत्पादित सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा सो कार्यालयले बुधबार एक पत्र जारी गर्दै स्थानीय सीप र उद्यमको प्रवर्द्धन,रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय,प्रदेश,स्थानीय तह र विदेशस्थित नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।

उक्त पत्रमा अबदेखि स्टेशनरी,फर्निचर,निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन रोज्नुका साथै सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि भनिएको छ ।

सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्ने र यसको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधान समेत उक्त पत्रमा उल्लेख छ ।

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउँदा नेपाली उद्योग तथा व्यवसायको प्रवर्द्धन,रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाली हस्तकलाको संरक्षण तथा प्रवर्द्धनमा समेत यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्