कर्णालीमा मिल्यो भागबन्डा, बागमतीको मुख्यमन्त्रीमा थापामगरको दावी



काठमाडौं,३ भदौ । कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।मन्त्रालयको भागबण्डामा सहमति जुटेसँगै तीन सातादेखि हुन नसकेको प्रदेश सरकार विस्तारको बाटो खुलेको छ। दुई दलबीच भएको सहमतिअनुसार एमालेले तीन मन्त्रालय पाउने भएको छ भने नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय सम्हाल्नेछ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेल र नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री मंगलबहादुर शाहीबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको हो । सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ ।

एमालेको भागमा भने आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ । मन्त्रालय बाँडफाँटसँगै दुई दलबीच प्रदेश सरकार सञ्चालनका अन्य विषयमा समेत सहमति भएको छ। प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णय कार्यान्वयन गर्दै सुधारका बाँकी कामलाई निरन्तरता दिने सहमति भएको छ ।

यता,बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगरले दाबी पेस गरेका छन्।उनले आज एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

बहुमतका लागि ५३ सांसद चाहिने भए पनि उनले एमाले, नेकपा र राप्रपासहित ६३ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गरेको एमाले सचिव महेश बस्नेतको भनाइ छ।

किरणले आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन्। यसअघि बागमतीमा एमालेको समर्थनमा कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार थियो। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीबाट बानियाँले राजीनामा दिएका थिए।

बागमती सरकार बनाउन समर्थन गरेपछि राप्रपाभित्र भने विवाद देखिएको छ। यहाँ राप्रपाका १२ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्