संसदीय दलको विधान संशोधन गर्ने तयारीमा रास्वपा, कार्यदल गठन



काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई थप जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यसहित संसदीय दलको विधान संशोधन गर्ने तयारी गरेको छ ।

विधान संशोधनका लागि रास्वपाले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज बसेको संसदीय दलको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको उपनेता गणेश पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार कार्यदललाई सात दिनभित्र विधानको आवश्यक संशोधन गरी त्यसअनुसारको कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ । संसदमा सांसदको मर्यादा कायम राख्ने, उनीहरूको जिम्मेवारी स्पष्ट गर्ने तथा जनपक्षीय आवाज उठाउने र कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने गरी विधान संशोधन गरिने उनले बताए।

सांसदहरूको भूमिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक देखिएका विषय समेटेर विधान परिमार्जन गरिने रास्वपाले जनाएको छ ।

बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भए–गरेका प्रगति विवरण र गतिविधिहरू बैठकमा राखेका थिए भने सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या,जनताबाट प्राप्त गुनासाहरू र सरकारका कामका कमजोरी औंल्याएका थिए । सरकारले काम गरिरहे पनि त्यसको सन्देश आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नससकेको बिषयमा आत्मसमीक्षा गरिएको पराजुलीले बताए। file foto

प्रतिक्रिया दिनुहोस्