कांग्रेस संस्थापनइतर समूहको निर्णयपछि अत्तालिए बाबुराम



काठमाडौं,१ भदौ । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाले विभिन्न राजनीतिक विषयमा निर्णय सार्वजनिक गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले जेन–जी युवाहरूको आन्दोलनको भावनालाई प्रयोग गरेर देशलाई पुनः ‘अँध्यारो युग’तर्फ फर्काउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेका छन् । उनले त्यसपछिको द्वन्द्वले मुलुकको सार्वभौमिकता,स्वाधीनता र भौगोलिक अखण्डतामाथि समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् ।
भट्टराईले संविधानसभा मार्फत निर्माण भएको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू एकताबद्ध भएर उभिनुपर्ने आवश्यकता औंल्याएका छन् । तर, यस्तो संवेदनशील समयमा सम्बन्धित शक्तिहरूले आ–आफ्नै राजनीतिक बाटो रोज्न थालेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पारित सार्वजनिक प्रस्तावमा विगतका प्रतिबद्धता र निर्णयबाट पछि हट्ने संकेत देखिएको दाबी गरेका छन् । साथै, कांग्रेसका एक वरिष्ठ नेताले सार्वजनिक रूपमा व्यक्त गरेको पछिल्लो अभिव्यक्तिलाई समेत उनले अस्वाभाविक भन्दै त्यसमा गम्भीर राजनीतिक संकेत हुन सक्ने बताएका छन् ।‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र नेपालको संविधानरूपी खाटका चार खुट्टा हुन्’ भन्दै भट्टराईले तीमध्ये कुनै एउटा आधार कमजोर पारिए समग्र संवैधानिक व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

उनका अनुसार जेन–जी पुस्ता तथा आम युवाले खोजेको सुशासन र समृद्धि संविधानका आधारभूत स्तम्भलाई कमजोर बनाएर नभई तिनै आधारमा उभिएर मात्र हासिल गर्न सकिन्छ । उनले पुरानो राजनीतिक व्यवस्थातर्फ फर्किने वा अर्को द्वन्द्व सिर्जना गर्ने प्रयासले युवाको आकांक्षा पूरा नगर्ने बताएका छन् ।
जेन–जी आन्दोलनको पहिलो वार्षिकी नजिकिँदै गर्दा भट्टराईले युवाहरूलाई राजनीतिक घटनाक्रमप्रति सतर्क रहनसमेत आग्रह गरेका छन् ।

यसअघि कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलाले पार्टीको आगामी राजनीतिक दिशा र समसामयिक विषयसँग सम्बन्धित पाँचबुँदे निर्णय सार्वजनिक गरेको थियो । उक्त निर्णयमा पार्टीको विगतका राजनीतिक प्रतिबद्धता, संवैधानिक व्यवस्था तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे विभिन्न धारणा अघि सारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्