भारतीय प्रधानसेनापति सेठ आज अपरान्ह काठमाडौं आउँदै



काठमाडौं,३१ साउन । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन्। उनी अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेन शाहले सरकारको नेतृत्व सम्हालेपछि भारतबाट नेपाल भ्रमणमा आउन लागेका सेठ अहिलेसम्मकै उच्च तहका भारतीय अधिकारी हुन्। भारतका प्रधानसेनापतिले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुलाई दुई देशबीचको सैन्य तथा कूटनीतिक सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

काठमाडौं बसाइँका क्रममा भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ।

सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ नेपाल आउनुको प्रमुख उद्देश्य मानार्थ महारथीको दर्जा ग्रहण गर्नु रहेको छ।

उनको नेपाल भ्रमणको विस्तृत कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन्। यद्यपि भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय सैन्य सहयोग र आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गर्ने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्