पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस : नेपालसँग सम्बन्ध थप सुदृढ बनाउने पाकिस्तानी राजदूत खानको प्रतिबद्धता



काठमाडौं,२९ साउन । पाकिस्तानले आफ्नो ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंस्थित दूतावास परिसरमा शुक्रबार झन्डोत्तोलन समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो।

समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झन्डा फहराएका थिए। कार्यक्रममा नेपालमा रहेका पाकिस्तानी समुदायका सदस्य,नेपाली मित्र तथा पाकिस्तानी दूतावासका अधिकारी र उनीहरूका परिवारजनको सहभागिता थियो।

स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले जारी गरेको सन्देशमा पाकिस्तान निर्माणका लागि बलिदान गर्ने नेता तथा आन्दोलनका कार्यकर्ताको योगदानको स्मरण गरेका थिए। उनले पाकिस्तानको स्वतन्त्रता केवल ऐतिहासिक उपलब्धि मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्दै क्षेत्रीय संवाद र तनाव न्यूनीकरणका लागि पाकिस्तानले आफ्नो कूटनीतिक क्षमता,भौगोलिक अवस्थिति र विभिन्न सञ्चार माध्यमलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेको बताएका छन्।

राष्ट्रपति जरदारीले क्षेत्रीय तथा विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम निम्त्याउन सक्ने अवस्थामा संवाद र कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले स्वतन्त्रता दिवसको सन्देशमा देशको विकास र समृद्धिको यात्रा चुनौतीबीच पनि अघि बढिरहेको बताएका छन्। उनले पाकिस्तानका सशस्त्र सेनाले प्रतिकूल परिस्थितिमा पनि मातृभूमिको रक्षा गर्दै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री सरिफले पाकिस्तानलाई शान्तिको पक्षमा दृढतापूर्वक उभिएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै पाकिस्तान,साउदी अरब र टर्कीबीच भएको संयुक्त रक्षा सम्झौता क्षेत्रीय रणनीतिक शक्तिका रूपमा पाकिस्तानको प्रभावकारी भूमिकाको प्रमाण भएको दाबी गरेका छन्।

उनले दक्षिण एसियामा दीर्घकालीन शान्तिका लागि जम्मु–कश्मीर विवादको कूटनीतिक समाधान आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघका सम्बन्धित प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन र कश्मीरी जनताको आकांक्षाअनुसार समाधान खोजिनुपर्ने बताएका छन्।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले पनि स्वतन्त्रतापछि विभिन्न क्षेत्रमा पाकिस्तानले उल्लेखनीय प्रगति गरेको बताएका छन्। उनले एकता,आस्था र अनुशासनका सिद्धान्तलाई मार्गदर्शक बनाएर देश अघि बढिरहेको उल्लेख गर्दै पाकिस्तानको सार्वभौमिकता,सुरक्षा र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

समारोहलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को स्वतन्त्रता संघर्ष र त्यसका लागि बलिदान दिने अग्रजहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले पश्चिम एसियामा बढेको तनाव कम गर्न पाकिस्तानले खेलेको कूटनीतिक भूमिकाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै शान्तिप्रतिको पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याए।

राजदूत खानले चुनौतीपूर्ण परिस्थितिमा पाकिस्तान र नेपाली जनता एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ बलियो बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले दुई देशबीच शताब्दीयौँ पुराना सांस्कृतिक सम्बन्ध, ऐतिहासिक सम्पर्क र साझा मूल्यमा आधारित द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै आर्थिक तथा कूटनीतिक सहकार्य सुदृढ गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

पाकिस्तानी दूतावासका अनुसार स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहले पाकिस्तानको राष्ट्रिय स्वतन्त्रताको स्मरणसँगै नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्