कोइराला निवास पुनः निर्माणका लागि सरकारले बिनियोजन गरेको २ करोड लिन डा. कोइरालाद्वारा अस्वीकार



काठमाडौं,२२ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको पुनः निर्माण, मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको रकम अस्वीकार गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले गत वर्षको भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएको विराटनगरको ऐतिहासिक कोइराला निवास पुनः निर्माणका लागि सरकारले बिनियोजन गरेको २ करोड रुपैयाँ बजेट लिन अस्वीकार गरेका हुन्।

पत्रमा कोइरालाले सरकारले दिएको रकम लिन आफू नैतिकरूपमा असमर्थ रहेको प्रष्ट पारेका छन् । पत्रमा उनले लेखेका छन् – ‘सर्वप्रथम वर्तमान सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जन्म घर भनी विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोक, मोरङ (कोइराला निवास) को मर्मत तथा सम्हारको लागि आ.व. २०८३/८४ को बेजटमा रु २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गर्दै म धन्यवाद व्यक्त गर्न चाहन्छु ।

राज्य सामु आम नागरिक जो बञ्वना, अभाव र अनेकन् कष्टमा छन त्यस्ता नागरिकको उत्थानको लागि उपलव्ध सिमित श्रोत र साधनको उपयोग होस भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका ७, कोशी अस्पताल चोक, मोरङस्थित (कोइराला निवास) को मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिकरुपमा स्विकार गर्न असमर्थ छु ।

विराटनगर महानगरपालिका वार्ड न ७ स्थित पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शताब्दी पहिले निर्मित घर जो कोइराला निवास भनी चिनिन्थ्यो, गतवर्ष भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा जलाईयो । यसको ऐतिहाँसिकता भौतिकरुपमा नष्ट गर्ने काम भयो ।

पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शैक्षिक जागरण मार्फत समाज रुपान्तरणको अभियान शताब्दी पहिले शुरु गरेको कार्यलाई विपी कोइरालाको नेतृत्वमा समस्त परिवारको साथ, समर्पण र सहयोग पाएर आम नेपालीको राजनैतिक, वौद्धिक र सामुहिक चेतनाको संघर्षमा त्यो परिणत भयो। कोइराला निवास यसको साक्षी र धरोहर मात्र थिएन आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्र पनि थियो ।

नेपाली जनताको सामुहिक चेतनाको त्यो धरोहर विचारको, संगठनको, स्वतन्त्रताको र राष्ट्रियताको रुपमा आज मेची महाकाली देशभरी फैलिएको छ ।

विपी सम्पुर्ण नेपालीको गाँस, बास र कपासको लागि जीवन भर संघर्षरत स्हनु भयो, राज्यले त्यस तर्फ समग्र रुपमा आफुलाई समर्पित गरोस यही नै विपी प्रति सच्चा श्रद्धान्जली हुतेछ; यही नै कोइराला निवास प्रति न्याय गरेको ठहरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्