कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित



काठमाडौँ,२१ साउन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

बोर्डले दिएको जानकारीअनुसार मौका परीक्षामा जम्मा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ, जुन कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हुन आउँछ।

यसैबीच, परीक्षाको मर्यादाविपरीत कार्य गर्ने तीन जना परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको बोर्डले जनाएको छ। नतिजामा प्राविधिक कारणले कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइनेछ।

विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आइभीआर सर्भिसमार्फत आफ्नो परीक्षाफल सहज रूपमा हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्