संसद बैठकमा जाँदा सांसदहरुले कालो चस्मा लगाउन नपाईने



काठमाडौं,२१ साउन । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने बताएका छन् । बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै अबदेखि लगाउन नपाइने बताएका हुन्।

‘कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिराखेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन,’ सभामुखका भनाइ उद्धृत गर्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भनिन्, ‘यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला।’

यसपछि सभामुख अर्यालले सत्तारूढ दल रास्वपा सचेतक प्रकाशचन्द्र परियारलाई यस विषयमा सरकारलाई पनि जानकारी गराउन आग्रह गरेका थिए।प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्।रास्वपा सचेतक परियारले संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको बताए ।

‘संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको थियो,’ उनले भने, ‘सांसदहरू लोगो लगाएर आउनुपर्छ र मर्यादित पोशाकबारे पनि कुरा उठेको थियो।’

नेकपा प्रमुख सचेतक युवराज दुलालले सभामुखले संसदको गरिमा र मूल्यमान्यता कायम राख्नुपर्ने कुरा कार्यव्यवस्था परामर्श समिति बैठकमा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्