देवानगञ्ज घटना : उच्चस्तरीय न्यायिक छानबिन गर्न विश्व हिन्दु महासंघको माग



काठमाडौं,१५ साउन । विश्व हिन्दु महासंघ केन्द्रीय/अन्तर्राष्ट्रिय समितिले सुनसरीको देवानगञ्जसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाको उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव शम्भुहरि बास्तोलाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा देवानगञ्जलगायतका घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको मृत्यु तथा अन्य हिन्दु सनातनी श्रद्धालु घाइते भएको घटनालाई सामान्य सुरक्षा घटनाका रूपमा नलिन सरकारको ध्यानाकर्षण गराइएको छ।
महासंघले घटनालाई धार्मिक हिंसाको संज्ञा दिँदै दुई पक्षबीचको भिडन्त भनिए पनि घटनाको विवरण हेर्दा हिन्दुहरूमाथि एकपक्षीय आक्रमण भएको आफ्नो निष्कर्ष रहेको जनाएको छ। साथै राज्य संयन्त्र नै हिन्दु समाजविरुद्ध सांघातिक रूपमा प्रस्तुत भएको देखिनु दुःखद र निन्दनीय भएको महासंघको आरोप छ।

महासंघले उक्त घटनालाई नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता, नागरिक अधिकार र विधिको शासनसँग जोडिएको गम्भीर राष्ट्रिय प्रश्नका रूपमा व्याख्या गरेको छ।विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै सबै घाइतेको निःशुल्क, प्रभावकारी र उच्चस्तरीय उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग गरिएको छ।

हाल सुनसरी,सिरहा,सप्तरी,धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु जारी भएको उल्लेख गर्दै महासंघले घटनाको प्रभाव प्रशासनिक सीमाभन्दा माथि उठेर राष्ट्रिय संवेदनशीलताको विषय बनेको जनाएको छ। यस्तो अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीवन, धार्मिक स्वतन्त्रता र सार्वजनिक विश्वासको रक्षा गर्नु रहेको महासंघको भनाइ छ।

महासंघले बहुसंख्यक नागरिकको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण राज्यको कृपा नभई संवैधानिक तथा कानुनी दायित्व भएको जनाएको छ। धार्मिक अनुष्ठानका क्रममा भएको रक्तपातलाई सामान्य सुरक्षा घटनाका रूपमा व्याख्या गरेर पन्छाउन खोज्नु लोकतान्त्रिक र संवैधानिक मूल्यअनुकूल नहुने पनि विज्ञप्तिमा उल्लेख छ।

महासंघले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ। घटनासँग सम्बन्धित सम्पूर्ण भिडियो, सीसीटीभी फुटेज तथा डिजिटल प्रमाण सार्वजनिक गर्नुपर्ने उसको माग छ।

त्यस्तै, अनावश्यक बल प्रयोगको आदेश दिने वा कार्यान्वयन गर्ने जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न, मृतकलाई सहिद घोषणा गर्न तथा पीडित परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन महासंघले माग गरेको छ। घाइतेलाई पूर्ण उपचारसँगै दीर्घकालीन भरणपोषणको व्यवस्था गर्नुपर्ने पनि उसको माग छ।

देशभरका मठ, मन्दिर तथा धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्दै नेपालको मौलिकता र धार्मिक–सांस्कृतिक पहिचान संरक्षणका लागि ठोस राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नसमेत महासंघले सरकारसँग आग्रह गरेको छ।
महासंघले सनातन हिन्दु समाजको ‘सर्वे भवन्तु सुखिनः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता सहिष्णुता तथा सहअस्तित्वका मान्यतालाई कमजोरी नठान्न चेतावनी दिँदै विभाजनकारी गतिविधि तथा घुसपैठलाई समयमै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमार्फत महासंघले सम्पूर्ण सनातनी हिन्दु समाजलाई संयम, अनुशासन र राष्ट्रिय उत्तरदायित्वका साथ एकताबद्ध रहनसमेत आह्वान गरेको छ। साथै नेपालको सनातन हिन्दु धर्म, संस्कृति र परम्परा राष्ट्रिय स्वाधीनता तथा स्वतन्त्र पहिचानको प्रमुख आधारस्तम्भ भएको दाबी गर्दै त्यसको संरक्षणबाट विमुख नहुन सरकारलाई आग्रह गरिएको छ।

महासंघले राज्य आफ्ना नागरिकको आस्था, सुरक्षा र मौलिक अधिकारको रक्षा गर्न असफल भए त्यसलाई प्रशासनिक कमजोरी मात्र नभई राष्ट्रिय उत्तरदायित्वबाट विचलनका रूपमा लिनुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्