धनुषा र सिरहामा पनि कर्फ्यु
काठमाडौं,१४ साउन । मधेस प्रदेशका दुई जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । धनुषा र सिराहामा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा आज साउन १४ गते दिउँसो साँढे तीन बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी जनकपुर लगायत विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो ।
आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम तोकिएका क्षेत्रमा कसैले आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । प्रशासनले आदेशको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
कर्फ्यु लागू गरिएको क्षेत्र चारकिल्ला तोकेर निर्धारण गरिएको छ । उत्तरतर्फ लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमयु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबर पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको प्रशासनले जनाएको छ ।
उता,जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लहान नगरपालिका क्षेत्रका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलन तथा हुलदंगाका कारण शान्ति सुरक्षा भंग हुनसक्ने अवस्था आउने संभावना भएपछि कर्फ्यु लागू गरिएको हो।
लहान नगरपालिकाको पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा पूर्व-पश्चिम राजमार्गको दक्षिणतर्फ ५०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुनेछ।
कर्फ्यु बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ। कर्फ्यु अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला हुन, प्रदर्शन, सभा, बैठक, धर्ना तथा नाराबाजी गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लंघन गर्ने गतिविधि भएमा कानुनबमोजिम गोलीसमेत चलाउन सक्ने चेतावनी दिएको छ।

