धादिङमा अनलाइन कक्षा सञ्चालन
लावण फुयल
धादिङ, आश्विन १५
कोभिड १९ को संक्रमणका कारण लामो समयसम्म बन्द रहेका धादिङ विद्यालयहरुले अनलाइन कक्षाको सञ्चालन प्रारम्भ गरेका छन् । छिटफुट रुपमा विद्यालयहरुले विद्यालय वा टोलटोलमा कक्षा सञ्चालन गरे पनि सिकाइले गति लिन नसकेकोले अनलाइन कक्षाबाट पनि सिकाइको क्षतिलाई न्यूनीकरण गर्नको लागि उक्त कक्षाहरु सञ्चालनमा ल्याइएका हुन् ।
धादिङको मूलतः राजमार्ग क्षेत्रका १३ वटा माध्यमिक विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक तथा नेराशि संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मासहित अन्य शिक्षाप्रेमी, बुद्धिजीवीहरुको संयुक्त छलफलबाट उक्त अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो । हाल कक्षा १० बाट प्रारम्भ गरिएको अनलाइन कक्षा अन्य कक्षाहरुमा समेत लागू गरिने आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राम अर्यालले रहस्यखवरलाई जानकारी दिनुभयो । अनलाइन कक्षा लिएबापत् कुनै पनि विद्यार्थीहरुले छुट्टै शुल्क तिर्नुनपर्ने र शिक्षकहरुले स्वयम्सेवकको रुपमा शिक्षण गर्ने वागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन अधिकारीले वताउनुभयो ।
धेरै समयसम्म विद्यालय वन्द रहेको अवस्थामा धादिङको पृथ्वी राजमार्ग आसपासका विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षाले विद्यार्थीहरुको सिकाइ उपलव्धी र प्रविधिसम्बन्धी थप ज्ञान प्रदान गरेको विद्यार्थी अविरल कार्कीको बुझाइ छ ।
अनलाइन कक्षा सञ्चालनको लागि विषयगत रुपमा शिक्षकको समिति गठन गरी पाठयोजनासमेत निर्माण गरिएको छ । जसमा अङ्ग्रेजी विषयमा शिक्षकहरु क्रमशः जयराम रुपाखेती, धु्रव खतिवडा, रुद्र दनै, ज्ञानु थापा, विनोद लामिछाने, कुल बहादुर पौडेल, गणितमा सुजन भण्डारी, लीला बहादुर थापामगर, राजेन्द्र पाण्डे, रुपक खतिवडा, विष्णु सिलवाल, घनश्याम अधिकारी, विज्ञानमा नवराज अधिकारी, अनिल रुपाखेती, तिलक बहादुर अधिकारी, राम प्रसाद गजुरेल, नीर बहादुर थापामागर, नेपालीमा सरोज खतिवडा, वलराम खतिवडा, रमेश प्रसाद रेग्मी, रामजी सिलवाल, राजन अर्याल, सुरेश वस्नेत, सरस पाण्डे, ईश्वरी ढुङ्गाना, सामाजिकमा रामचन्द्र रुपाखेती, केशव रुपाखेती, रमेश रेग्मी, मान बहादुर श्रेष्ठ, हर्क जागरी र लेखा विषयमा राम कुमार भुजेल, परमेश्वर वाग्ले, सूर्य घिमिरे, विष्णु पंगेनी तथा योगेन्द्र सिलवाल रहेका छन् । विषयगत समितिमा वाँकी विद्यालयका विषय शिक्षकहरु स्वतः सदस्यको रुपमा रहने भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले जानकारी दिनुभयो ।
हाइवे क्षेत्रका विद्यालयले सञ्चालन प्रारम्भ गरेको अनलाइन कक्षाले विस्तारै धादिङ जिल्लाभित्रका सबै र वाहिरी जिल्लाका विद्यालय र विद्यार्थीहरुले समेत लाभ लिने नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठानप्रसाद बस्यौलाले वताउनुभयो ।


