बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार, प्रसाईको सक्कल फाईल झिकाउन आदेश
काठमाडौँ,११ फागुन । नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आज सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको सहरजिस्ट्रार एवम् प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
उता,मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन सर्वोच्चले आदेश जारी गरेको छ न्यायाधीशद्वय नहकुल सुवेदी मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश जारी गरेको हो ।
प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरेको हो । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

