विश्वमंगलको मन्त्रनाद : पशुपति क्षेत्रमा विश्वमेध श्रीविद्या कोटिअर्चना




✍️आचार्य शम्भुहरि बास्तोला

हिमवत्खण्ड नेपालको पशुपति क्षेत्र केवल एक तीर्थस्थल मात्र होइन; यो सनातन सभ्यता, वैदिक परम्परा र अध्यात्मिक चेतनाको जीवित केन्द्र हो। बागमतीको पावन तट, शिवमन्दिरहरूको शृङ्खला र निरन्तर गुन्जिरहने मन्त्रध्वनिबीच अवस्थित वेद विद्याश्रममा सम्पन्न भइरहेको ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ वास्तवमा त्याग, तपस्या र समष्टि कल्याणको एक विराट अध्यात्मिक आख्यान हो।
‘विश्वमेध’ शब्दले स्वयंमा गहिरो अर्थ बोकेको छ। ‘विश्व’ अर्थात् समग्र सृष्टि र ‘मेध’ अर्थात् यज्ञ-बुद्धि, समर्पण र आहुति। यस अर्थमा विश्वमेध कुनै सीमित धार्मिक अनुष्ठान होइन; यो सम्पूर्ण विश्वको मंगल, शान्ति र समृद्धिका लागि गरिएको सामूहिक आध्यात्मिक संकल्प हो। वैदिक दर्शनमा यज्ञ केवल अग्निकुण्डमा घृतमिश्रित चरु आहुति दिने प्रक्रिया मात्र होइन, यो मन, वचन र कर्मको शुद्धीकरणको साधना हो। जब साधकले आफ्नो अहंकार, लोभ, द्वेष र स्वार्थलाई अग्निमा समर्पण गर्छ, तब यज्ञको वास्तविक अर्थ साकार हुन्छ।

यस विश्वमेधको केन्द्रमा रहेको ‘श्रीविद्या कोटिअर्चना’ तन्त्र-वेद परम्पराको अत्यन्त उच्च र गूढ साधना मार्ग हो। श्रीविद्या उपासना आद्याशक्ति महात्रिपुरसुन्दरीको आराधनासँग सम्बन्धित छ, जसलाई ब्रह्मविद्याको सार मानिन्छ। ‘कोटिअर्चना’ भनेको करोडौं मन्त्रजपद्वारा गरिने विशेष आराधना हो, जसका लागि असाधारण धैर्य, अनुशासन र एकाग्रता आवश्यक पर्छ। महायज्ञमा नवावरण पूजन, चण्डीपाठ, हवन, विशेष न्यास तथा मन्त्रजपका सूक्ष्म विधिहरू अत्यन्त शास्त्रोक्त मर्यादामा निरन्तर सम्पन्न भइरहेका छन्।

महायज्ञमा सहभागी वेद विद्याश्रमका वटुकहरू यस महाअनुष्ठानका मौन नायक हुन्। उनीहरू बाल्यकालदेखि नै वेदाध्ययनमा समर्पित ब्रह्मचारी विद्यार्थी हुन्, जसले जीवनलाई अनुशासन र संयममा ढालेका छन्। ब्रह्ममुहूर्तमा जागरण, स्नान, संध्या-वन्दन, गुरु वन्दना, वेदमन्त्रको स्वर-छन्दअनुसार अभ्यास-यी सबै उनीहरूका दैनिक जीवनका अनिवार्य अङ्ग हुन्, त्यसपछि दिनभरि शास्त्राध्ययन, यज्ञकुण्डको सेवा, कोटिअर्चनामा सहभागिता र हवन यसभित्रको दिनचर्या हो। मनोरञ्जन, विलासिता र बाह्य आकर्षणबाट टाढा रहँदै उनीहरूले आफ्नो यौवनलाई संस्कृतिको संरक्षणमा समर्पित गरेका छन्। त्यागको वास्तविक अर्थ यहीं प्रत्यक्ष देखिन्छ। परिवारको सान्निध्य, आधुनिक सुविधाहरू र व्यक्तिगत आकाङ्क्षाभन्दा माथि उठेर उनीहरूले वेदपरम्परालाई जीवन्त राख्ने सनातन दायित्व स्वीकार गरेका छन्। उनीहरूको स्वरमा गुन्जिने मन्त्र केवल ध्वनि होइन; त्यो हजारौं वर्ष पुरानो ऋषि परम्पराको निरन्तरता हो।

यस अनुष्ठानमा सहभागी अन्य श्रीविद्या साधकहरूको तपस्या पनि त्यत्तिकै प्रेरणादायी छ। कोही निरन्तर जपअनुष्ठानमा लीन छन्, कोही सेवा र व्यवस्थापनमा समर्पित छन्। उनीहरूका लागि साधना कुनै प्रदर्शन होइन; आत्मपरिवर्तनको मौन यात्रा हो। बाह्य रूपमा अग्निमा अर्पित प्रत्येक आहुति जति महत्त्वपूर्ण छ, त्यसभन्दा गहिरो आहुति उनीहरूले आफ्नो अन्तरात्मामा दिइरहेका छन् । अहंकारको विसर्जन, स्वार्थको परित्याग र समष्टि कल्याणको संकल्प उनीहरूको साधनाको ध्येय हुन गएको छ।

यस सम्पूर्ण आध्यात्मिक अभियानको प्रेरणाका रूपमा श्रीविद्याका परमोपासक आवाल ब्रह्मचारी महेश चैतन्य महाराजको सत्संकल्प अनुकरणीय छ। उहाँले वेद, तन्त्र र ब्रह्मचर्य जीवनलाई समन्वित गर्दै साधनालाई जीवनपद्धतिका रूपमा स्थापित गर्नुभएको छ। उहाँको दृष्टिमा आध्यात्मिकता केवल कर्मकाण्ड वा परम्परागत औपचारिकता होइन; यो चेतनाको रूपान्तरण हो। “साधना बिना समाज रूपान्तरण सम्भव छैन” भन्ने उहाँको विचार यस महाअनुष्ठानमा व्यवहारिक रूपमा झल्किएको देखिन्छ। यस महायज्ञमा सहभागीभएका सबै वटुक तथा साधक-साधिका उहाँबाटै श्रीविद्याका दीक्षित शिष्य समेत हुन् ।

रात्रि गहिरिँदै जाँदा पनि वेद विद्याश्रमको वातावरण निदाउँदैन। हवनकुण्डको मन्द ज्वाला, धूपको सुगन्ध र लयबद्ध मन्त्रध्वनिले वातावरणलाई दिव्य बनाउँछ। अग्नि यहाँ देवता मात्र होइन, साधकको अन्तरात्मामा प्रज्वलित ज्ञानदीपको प्रतीकको साक्षी पनि हो । प्रत्येक मन्त्र उच्चारणसँगै चेतनामा नयाँ तरंग उत्पन्न हुन्छ, जसले व्यक्तिगत सीमाभन्दा माथि उठेर समष्टि चेतनासँग जोड्ने प्रयास गर्छ।

आजको भौतिकताप्रधान युगमा, जब समाज मानसिक तनाव, नैतिक संकट र मूल्य विचलनबाट गुज्रिरहेको छ, त्यस्तो अवस्थामा यस्तो महाअनुष्ठानले “सच्चा परिवर्तन बाह्य संरचनाबाट होइन, आन्तरिक जागरणबाट सम्भव हुन्छ” भन्ने गहिरो सन्देश दिएको छ । राष्ट्रको वास्तविक शक्ति आर्थिक समृद्धिमा मात्र सीमित हुँदैन; त्यो नैतिकता, संस्कार र आध्यात्मिक चेतनामा आधारित हुन्छ।

‘विश्वमेध श्रीविद्या कोटिअर्चना’ यस अर्थमा केवल धार्मिक कार्यक्रम होइन; यो राष्ट्रचेतनाको पुनर्जागरण अभियान हो। वेदविद्याश्रमका वटुकहरूको अनुशासन, श्रीविद्या साधकहरूको तपस्या र आध्यात्मिक नेतृत्वको प्रेरणाले समाजलाई परम्परा स्मरणका लागि होइन, अभ्यासका लागि हो भन्ने मौन सन्देश दिइरहेको छ ।
यज्ञको औपचारिक समापन एक दिन हुनेछ। अग्नि शान्त हुनेछ, मन्त्रध्वनि विराम लिनेछ। तर यस अनुष्ठानले रोपेको आध्यात्मिक बीउ सहभागीहरूको हृदयमा जीवित रहनेछ। त्यो बीउ भविष्यमा संस्कार, नैतिकता र समर्पणका रूपमा अंकुरित हुनेछ।

यसरी, पशुपति क्षेत्रको वेद विद्याश्रममा सम्पन्न ‘विश्वमेध श्रीविद्या कोटिअर्चना’ त्याग, तपस्या र समष्टि मंगलको एक अद्वितीय महाअध्याय बनेको छ। यो केवल वर्तमान क्षणको घटना मात्रै नभएर सनातन परम्पराको निरन्तरता र भविष्यप्रतिको आशाको उज्यालो दीप हो।

यही चेतनाको प्रकाश दीर्घकालसम्म समाजमा फैलिरहोस्, राष्ट्र सुदृढ बनोस् र विश्वमा शान्ति तथा सद्भाव स्थापित होस्, यही नै यज्ञको वास्तविक पूर्णाहुति हुनेछ। अस्तु !

(लेखक बास्तोला श्रीविद्यासाधक एवं विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय महासचिव समेत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्