युवा व्यवसायी गुरुङिमा शेर्पाले सञ्चालनमा ल्याए खिजीदेम्बामा स्केट पार्क
दावा जाङ्बु शेर्पा,ओखलढुंगा,११ माघ ।ओखलढुंगाको खिजीदेम्बामा स्केट पार्क संचालनमा आएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं.-५ करिब १ रोपनी क्षेत्रफलमा निर्माण भएको खिजीदेम्बा स्केट पार्क संचालनमा आएको हो ।

युवा व्यवसायी गुरुङिमा शेर्पाको व्यक्तिगत लगानीमा स्केट पार्क निर्माण गरि संचालनमा ल्याएका हुन् । करिब २० लाख लागतमा स्केट पार्क निर्माण भएको व्यवसायी शेर्पाले जानकारी दिए । स्केटिङ गर्नका प्रति घण्टा नगत २ सय ५० रुपैया शुल्क लाग्ने छ । पार्कमा एकै पटकमा ५०– ६० जनासम्मले स्केटिङ गर्न सकिने छ ।
स्केट पार्कले गाउँपालिका बासीलाई मनोरञ्जन तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने र शारीरिक, मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान भइ खेल पर्यटनमा टेवा पुग्ने विश्वास लिएको व्यवसायी शेर्पाले बताए ।
गुड्ने चक्कासहितको जुत्ता लगाएर दौड्ने र हिँड्ने गरी यो खेलको मजा लिन सकिन्छ । विदेसी मुलुकमा लोकप्रिय बनेको खेल नेपालमा पनि लोकप्रिय बन्न थालेको छ । स्केट पार्क खेलले मनोरञ्जनका साथै शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो स्केट पार्क नै गाउँपालिकामा पहिलो र ओखलढुंगा जिल्लाको दोस्रो स्केट पार्क हो ।

