डेडिकेटेड फिडर तथा ट्रंक लाईन विद्युत महसुल बक्यौता तिर्न प्राधिकरणले दियो २१ दिने म्याद



काठमाडौं,१२ असोज । नेपाल विद्युत प्राधिकरणले यसअघिका पुनरावलोकन सम्बन्धी सबै काम खारेज गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाईन विद्युत महसुल बक्यौता २१ दिनभित्र तिर्न ताकेता गरेको छ ।

आईतवार एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गर्दै प्राधिकरणले तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

प्रकाशित सूचना अनुसार नै २१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ । सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्