एमाले सचिब भट्टराईले औंल्याए पार्टीभित्र बहुआयामिक पुनर्गठनको आवश्यकता
काठमाडौं,९ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेनजी आन्दोलनले दिएको सन्देशको वस्तुगत सम्मान गर्दै राज्य,समाज र पार्टी संरचनामा बहुआयामिक रुपान्तरण गर्नु पहिलो शर्त भएको बताएका छन् ।

सार्वजनिक वक्तव्यमार्फत भदौ २३ गतेको जेनजी आन्दोलनपछिको वातावरणमा पार्टी नेतृत्व र संरचनाप्रति उठेका प्रश्नहरूबारे गहिरो समीक्षा गर्दै भट्टराईले लिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न नसकेकोमा माफी समेत मागेका छन्।उनले वर्तमान राजनीतिक नेतृत्वप्रति जनतामा गहिरो असन्तुष्टि रहेको स्वीकार गर्दै पार्टीभित्र बहुआयामिक पुनर्गठन आवश्यक रहेको बक्तब्यमा उल्लेख गरेका छन् ।
एमालेभित्रको पुनर्गठन बहसलाई नेतृत्वको अस्वीकार वा अपमानको रूपमा बुझिन नहुने उनको भनाई छ । ‘नेतृत्वप्रतिको सम्मान रहनु भनेको आन्दोलन रहनु हो। पुनर्गठनको आवाज अपमान होइन, भविष्य निर्माणको आधार हो’, उनले भनेका छन् ।
भट्टराईले सिंगो पार्टी, कार्यकर्ता र शुभेच्छुकहरूलाई आत्मसमीक्षा, संवाद र समन्वयमा आधारित ढंगले अगाडि बढ्न अपील गरेका छन् । ‘कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो । आत्मभत्र्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं’, उनले भनेका छन् ।
भदौ २४ को विध्वंसले मुलुकको राजनीतिक,आर्थिक, सामाजिक तथा सांस्कृतिक संरचनामा गहिरो असर पारेको उल्लेख गर्दै उनले आन्दोलनको पवित्र उद्देश्यमाथि दुर्भाग्यपूर्ण अपहरण भएको र यसले लोकतान्त्रिक आन्दोलनकै छवि धुमिल बनाएको टिप्पणी गरेका छन्।
उनले जेनजी आन्दोलनका घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भदौ २४ को हिंसा र तोडफोडलाई ‘संगठित घुसपैठ’ भन्दै उनले सत्यतथ्य छानबिनको मागसमेत गरेका छन्।

