मल नल्याउने कम्पनीको धरौटी जफत,कानुनी कारबाही पनि गरिने



काठमाडौं, २२ भाद्र ।सरकारले समयमै मल आयात नगरेका शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द गरेको छ । सम्झौताअनुसार भदौ २० गतेसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले ठेक्का रद्द गरी धरौटी रकम जफतको निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालका अनुसार शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी भएको छ ।

शैलुङ र होनिकोले २५/२५ हजार टन युरिया आयात गर्ने ठेक्का पाएका थिए । ‘मुलुककै अत्यावश्यक वस्तु आपूर्ति नगर्नेको ठेक्का रद्द गरेका छौं,’ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भने, ‘मनपरी गरेर जसरी पनि ठेक्का पार्ने र त्यसपछि काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दुई कम्पनीको करिब १० करोड धरौटी रकम जफत गरेका छौं । लापरबाही गर्नेलाई अन्य व्यवस्थाअनुसार कानुनी कारबाही पनि हुन्छ ।’

शैलुङ कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । होनिको कम्पनीका ठेकेदार हुमनाथ कोइराला कांग्रेसनिकट व्यवसायी हुन् । उनीहरूले राजनीतिक आडमा ठेक्का लिने र अलपत्र पार्ने गरेका थिए । कम्पनीका अनुसार शैलुङले रसिया वा ओमान र होनिकोले चीनबाट मल ल्याउने जनाएका थिए । सस्तो रकम कबोल गरेर ठेक्का पारेका यी कम्पनीहरूले मल आयात नै गरेनन् । जसले गर्दा किसान मलका लागि घन्टौं लाइन बस्न बाध्य भएका छन् ।

‘मल ढिलो आयो, किसान लामो लाइन बस्न बाध्य भएका छन्,’ मन्त्री भुसालले भने, ‘अहिले कोरोनाका कारण धेरै श्रम शक्ति गाउँमा छन्, बाँझो जमिन खेती भयो । मलको आवश्यकता बढ्यो । यही बेला मल पुर्‍याउन सकिएन । ठेकेदारले ल्याएन । यसमा दुःखी छौं लोकान्तर अनलाइनले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्