सरकारले भ्रष्टाचार,बेथिति र अराजकता बढाएको प्रचण्डको आरोप



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको बर्तमान सरकारले भ्रष्टाचारी जोगाउने,बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप लगाएका छन् ।

वीरगञ्जमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि नै बनेको बताए।आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुले हटाएको उनको दावी थियो।

आफुले सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताउदै उनले भने- ‘वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको हो।’

‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’अध्यक्ष दाहालले भने,’लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ। उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ।’

आफू ०८४ सम्म जनताकै साथमा रहने बताउँदै उनले हाल आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर समेत उनले गरे।सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताए।

प्रतिक्रिया दिनुहोस्