फाप्लु विमानस्थलमा हवाई ईन्धन रिफ्युलिंग सुविधा स्थापनाका लागि मेयर शेर्पाले थाले पहल



सोलुखुम्बु।फाप्लु बिमानस्थलमा हवाई उडानको संख्या नगन्य हुंदा त्यसले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा अवरोध गरेको निष्कर्षसहित सोलुदुधकुण्ड नगरपालिकाले त्यसलाई हवाई उडानको केन्द्र बनाउने पहल सुरु गरेको छ।

नगरपालिकाको वडा नं ४ मा अवस्थित फाप्लु बिमानस्थलमा हवाई ईन्धन रिफ्युलिंग सुविधा स्थापना भएको खण्डमा हवाई उडान नियमित र संख्या पनि वृद्धि हुने निष्कर्षसहित नगरपालिकाका मेयर मेयर नाम्गेल जाङ्बु शेर्पाले ईन्धन रिफ्युलिंग सुविधा उपलब्ध गराइदिन नेपाल आयल निगमलाई आग्रह गरेका छन्।

फाप्लु विमानस्थलबाट लुक्ला तथा अन्य विमानस्थलमा हवाई यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटक भएता पनि हवाई ईन्धन रिफ्युलिंग सुविधा नभएको कारण धेरै वायुसेवा कम्पनीहरुले फाप्लुमै बेस गरि उडान सञ्चालन गर्न नसकेको उल्लेख गर्दै निगमको केन्द्रीय कार्यालय टेकुलाई सोमबार पत्र लेख्दै मेयर शेर्पाले सो फाप्लु बिमानस्थलमा सो सुबिधा उपलब्ध गराईदिन माग गरेका हुन।

फाप्लु विमानस्थलमा हवाई ईन्धन रिफ्युलिंग सुविधा भएमा हाल काठमाण्डौ वा रामेछापबाट हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरुले फाप्लुमै बेस गरि उडान सञ्चालन गर्ने हुँदा पर्यटक चहलपहल बढ्ने तथा सोलुदुधकुण्ड नगरपालिकाका नागरिकलाई समेत सुविधा हुने निगमलाई मेयर शेर्पाले लेखेको पत्रमा उल्लेख गरिएको छ।

पर्यटन सिजनमा खुम्बु क्षेत्रको मौसम बारम्बार परिवर्तन हुँदा हवाई उडानहरू रद्द हुने र त्यसले क्षेत्रको पर्यटनमा ठूलो असर परेको मेयर शेर्पाको भनाई छ।

फाप्लुमा नियमित उडान नहुदाँ सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रको पर्यटन पनि प्रभावित भएको छ, जसले स्थानीय यात्रुहरूको हवाई यात्रा र आकस्मिक उद्धारमा आउने समस्या समाधानका लागि हालका रामेछाप लुक्ला र फाप्लुको सट्टा सिधै काठमाडौं-फाप्लु र फाप्लु-लुक्ला उडानका लागि सोलुदुधकुण्ड नगरपालिकामास्थित फाप्लु एयरपोर्टलाई हवाई उडानको मुख्य केन्द्र बनाउनु पर्ने उनले बताए।

सोलुखुम्बु क्षेत्रका नियमित उडानहरू सुनिश्चित गर्न सके पर्यटकहरूको संख्यामा वृद्धि हुने र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भन्दै मेयर शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्-‘यसका लागि फाप्लु विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग सेन्टरको सुविधा आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्