वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने एकजना पक्राउ



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको टीकाथली बस्ने ललित केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसरको टोलीले बुधबार पक्राउ गरेको हो ।पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार आक्रमणको प्रयास गरेका थिए ।

घर फर्किने क्रममा अदालत परिसरमै आक्रमणको प्रयास भएको पाइएको प्रहरीले जनाएको छ ।अदालतमा लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट उनले बहस गरेका थिए ।

नेपाल बार एसोसिएसनले त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले गरेको साङ्घातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ : ‘न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि नै गम्भीर चुनौती देखिएको छ ।’

त्रिपाठीमाथि गाली गलौज गरी साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्