६० लाख धरौटीमा लामिछानेलाई रिहा गर्न काठमाडौं अदालतको आदेश



काठमाडौं । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो ।कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।

बुधबार रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू दुवैले लामिछाने निर्दोष रहेको र तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

दुई जनाको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो । त्यस्तै, पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले जवाफी बहस गरेका थिए ।

बुधबार थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएसँगै बहस सुरु भएको थियो । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।

यसअघि जिल्ला अदालत कास्कीले पनि ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्