बन्दुक प्रहार गरेर श्रीमतीको हत्या गर्ने पक्राउ
डडेल्धुरा।आफ्नै श्रीमती २४ वर्षीया अस्मिता थापा मगरको हत्या गरेको अभियोगमा अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बर बहादुर थापा मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वादविवादको क्रममा डम्बर बहादुरले आफ्नै घर आँगनमा एकनाले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो। सो जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

