राष्ट्रपतिलाई बुझाईयो अख्तियारको बार्षिक प्रतिबेदन, एक बर्षमा २६ हजार ९१८ भ्रष्टाचारका उजुरी
काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।

आईतबार शीतल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आइतवार शीतलनिवासमा राष्ट्रपति पौडेललाई प्रतिबेदन बुझाएका थिए।वार्षिक प्रतिवेदनमा आयोगमा आर्थिक वर्ष २०८०।०८१ मा आयोगमा २६ हजार ९१८ उजुरी परेको उल्लेख गरिएको छ।
अख्तियार प्रमुख राईका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए। उनले यो अवधिमा कुल ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्स्यौट भएको बताए।
उनले फर्स्यौट गरेका उजुरीमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरी तामेली गरिएको बताए। उनले फ फर्स्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिइ तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको जानकारी दिए। उनले प्रारम्भिक छानबिनका क्रममा रही फर्स्यौट हुन बाँकी ८ हजार ४७२ उजुरी आर्थिक वर्ष २०८१।०८२ मा सरेको बताए।
राईले भने‚ ‘आर्थिक वर्ष २०८०।०८१ मा आयोगमा २६ हजार ९१८ उजुरी प्राप्त भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको थियो। यो अवधिमा कुल ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्स्यौट भएका छन्।’

