समसामयिक बिषयमा सोलु कांग्रेसद्वारा प्रमुख जिल्ला अधिकारी खत्रीको ध्यानाकर्षण




सोलुखुम्बु। नेपाली काँग्रेस सोलुखुम्बुले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं-५ थामेका बाढी पीडितलाई यथाशक्य चाँडो पुनर्स्थापना गर्न तथा बाढीका कारण क्षति भएका पदमार्गहरु र जुभिङघाटको पुल मर्मत गरी तुरुन्त संचालनमा ल्याउन ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको नेतृत्वमा गएको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीलाई विविध समसामयिक विषयमा ज्ञापनपत्र बुझाउंदै कार्यालयको ध्यानकर्षण गराएको नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी खत्रीलाई बुझाईएको सभापति शेर्पाद्वारा हस्ताक्षरित ३ बुँदे ज्ञापनपत्रमा सोलुखुम्बु जिल्ला भित्र निर्माणाधीन पुलहरु थुलुङ दुधकोशी-२, वात्तिम हुँदै खोटाङ जिल्ला जोड्ने जुबु बादे पुल, थुलुङ दुधकोशी ५ र ६ जोड्‌ने बर्बुघाट पुल, थुलुङ दुधकोशी ८ र सोताङ जोड्ने दिप्लीघाट पुल लगायत अन्य विकास निर्माणका कार्यहरु अलपत्र नपारी अविलम्ब निर्माण गर्न र दुधकोशी हाईड्रोपावर प्रा.लि.ले दुधकोशी-२ (जलेश्वर) ७० मेगावाटको पहुँचमार्ग निर्माण गर्ने क्रममा व्यक्तिको जग्गा र सिंहदेवी सामुदायिक बनमा क्षति पुऱ्याएको भन्दै भोगाधिकार समेत नलिई गैर कानुनी कार्य गर्ने व्यक्तिलाई कारबाही गरि जनताको धनको सुरक्षा गर्न माग गरिएको छ।

यी हुन् ज्ञापन पत्रमा उल्लेख भएका बुंदा

१) २०८१ श्रावण ३२ गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु ५, चामेमा आएको बाढीबाट थामे लगायत दुधकोशी आसपासका तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको सर्वविदितै छ । उक्त बाढीबाट प्रभावितहरुलाई यथाशक्य चाँडो पुनर्स्थापनाका लागि जोडदार माग गर्दछौं । उक्त बाढीबाट पाठ सिक्दै हिमालको काखमा रहेका हिमतालहरुको अध्ययन गरि जोखिमपूर्ण हिमतालहरुको जोखिम न्यूनिकरण गर्ने उपाय तुरुन्त अवलम्बन गराईयोस । सो बाढीका कारण क्षति भएका पदमार्गहरु र जुभिङघाटको पुल मर्मत गरि तुरुन्त संचालनमा ल्याईयोस ।

२) सोलुखुम्बु जिल्ला भित्र निर्माणाधीन पुलहरु थुलुङ दुधकोशी-२, वात्तिम हुँदै खोटाङ जिल्ला जोड्ने जुबु बादे पुल, थुलुङ दुधकोशी ५ र ६ जोड्‌ने बर्बुघाट पुल, थुलुङ दुधकोशी ८ र सोताङ जोड्ने दिप्लीघाट पुल लगायत अन्य विकास निर्माणका कार्यहरु अलपत्र नपारी अविलम्ब निर्माण गरियोस ।

३) दुधकोशी हाईड्रोपावर प्रा.लि.ले दुधकोशी-२ (जलेश्वर) ७० मेगावाटको पहुँचमार्ग निर्माण गर्ने क्रममा व्यक्तिको जग्गा र सिंहदेवी सामुदायिक बनमा क्षति पुऱ्याएको अवगतै छ । उक्त निर्माण क्रममा सम्बन्धित निकायबाट भोगाधिकार समेत लिएको छैन । तसर्थ उक्त निन्दनीय कार्य गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याईयोस । जनताको सम्पत्तिको सुरक्षाको प्रत्याभूति गराईयोस ।

प्रतिक्रिया दिनुहोस्