अघि बढ्यो फाप्लु-बेनी सडक स्तरोन्नतिको काम,नगरप्रमुख शेर्पाले गरे शिलान्यास




सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले विकासका काममा नगरपालिकाले गुणस्तरमा सम्झौता नगर्ने बताउनुभएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको फाप्लु- खोलाघारी-बेनी सडक खण्डको स्तरोन्नतिको बुधबार शिलान्यास गर्दै नगरप्रमुख शेर्पाले सो कुरा बताउनुभएको हो।नगर क्षेत्र भित्र विकासका काममा अनुगमन र गुणस्तर परिक्षणलाई प्राथमिकता दिने गरिएको चर्चा गर्दै नगर प्रमुख शेर्पाले सो सडक खण्डको स्तरोन्नतिको काम पनि बजेट र स्टिमेट अनुसारको गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।

सघन सहरी तथा भवन आयोजना ओखलढुंगाको ८ करोड ५४ लाख ११ हजार १ सय ८७ रुपैयाँ लागतमा स्तारोन्नती हुने सडकको निर्माण कम्पनी देवीथान/सम्सेर जेभिले निर्माणको जिम्मा लिएको छ ।आगामी वर्षको असोज मसान्त भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसंग गत जेठ ३१ गते सम्झौता सम्पन्न भएको थियो।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख गान्धीमाया तामाङ,नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा,वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ् ठिले शेर्पा,सम्सेर निर्माण सेवाका सम्शेर कार्कीले आ-आफ्नो धारणा राख्नुभएको शिलान्यास कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जीनियङ धर्मेन्द्र पासवानलेबजेटले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा ७ सय मिटर सडक ढलान हुने र फाप्लुबाट खोला घारी हुँदै सो सडक खण्डका विभिन्न स्थानमा स्तरोन्नतिका कामहरु हुने बताउनुभयो । पासवानका अनुसार उक्त बजेटमा कुल २ दशमलव ४ किमी सडक स्तरोन्नतिको काम हुने छ ।

बक्ताहरुले नगरप्रमुख शेर्पाको लामो प्रयासपछि पूर्व सहरी विकास मन्त्री सिता गुरुङको पहलमा बजेट बिनियोजन भएका कारण सडक स्तरोन्नतिको कामले गति लिएको चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्