राप्रपाद्वारा आन्दोलनमा युवा दस्ता परिचालन सम्बन्धी प्रशिक्षण सामाग्री पारित




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू अधिराज्य पूनस्र्थापना गर्ने आन्दोलनको तयारी रणनीतिक रुपमा अघि बढाएको छ ।

आन्दोलनको लागि देशभरीबाट छनौट हुने २० हजार युवा दस्ताका लागि राजनीतिक तथा परिचालन सम्बन्धि छुट्टाछुट्टै प्रशिक्षणका कार्यपत्रहरु मंगलबार राप्रपाले पारित गरेको छ ।

आन्दोलन परिचालन समितिका संयोजक, महामन्त्री डा. धवलशम्शेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सम्पन्न वैठकले आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षणका लागि प्रशिक्षण सामाग्री परिमार्जनसहित पारित गरेको हो ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीका अनुसार, देशका ७७ जिल्लामा आन्दोलनकेन्द्रीत विशेष प्रशिक्षण संचालन गर्न पूर्व प्रशिक्षक प्रशिक्षण आयोजना गरिनेछ । यस प्रशिक्षणमा आन्दोलनको राजनीतिक आयाममा पार्टी नेतृत्व र परिचालनको प्राविधिक विषयमा भूपू सैनिक तथा भूपू प्रहरीहरुबाट प्रशिक्षण संचालन गरिनेछ ।

आन्दोलन परिचालन समितिको वैठकमा अनुमोदनका लागि प्रवक्ता लावतीले राजनीतिक तथा नीतिगत र भूपू सैनिक संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले परिचालन तथा व्यवस्थापन लगायतका विषय समेटीएको कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

राप्रपाको कार्यसम्पादन समितिले यस अघि नै ६ हजार ७ सय त्रिचालिस वडाबाट तीन–तीन जनाको दरले आन्दोलनका लागि युवा दस्ता चयन गर्ने निर्णय गरेको छ ।

प्रशिक्षक प्रशिक्षणबाट तयार भएका प्रशिक्षकहरुले देशभरीका सबै जिल्ला पुगेर छनौटमा परेका युवाका लागि प्रशिक्षणहरु संचालन गर्नेछन् । काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपाले योजनावद्ध तयारी जारी राखेको छ । समान विचारधारा भएका दल, समूह र संघसंस्थासँग हातेमालो कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्