हिमताल फुट्दा थामे खोलामा बाढी आएको पुष्टि,रक्षामन्त्री राईसहितको टोली प्रभावित क्षेत्रमा




सोलुखुम्बु।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ।

रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको पाइएको हो।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ। अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ। एउटा हिमताल भने सुरक्षित देखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।

अझै दुई वटा ताल फुट्न सक्ने जोखिम देखिएको भन्दै प्रजिअ पाण्डेले थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताइन्।

सोलुखुम्बुबाट निर्वाचित सांसद समेत रहेका मन्त्री राई,राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पा,कोशी प्रदेश सभा सदस्य एबम् पूर्ब प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल सेनाको हेलिकप्टरमा निरीक्षणका लागि शनिबार खुम्बु क्षेत्र पुगेका थिए।

रक्षामन्त्री राईले विपद्का कारण खण्डहर बनेको ठाउँलाई दिर्घकालिन हिसाबले सुरक्षित र सुन्दर बनाउनेगरी सरकारले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।‘विपदले यो सुन्दर पर्यटकीय गाउँलाई खण्डहर बनाएछ । तपाईको जनप्रतिनिधि हुनुका नाताले तत्काल दुःखमा साथ दिन आएँ । अहिले केही राहत सामाग्री आएको छ । अब तपाईहरुको पुनस्थापना र गाउँको पुनर्निर्माणको काम सरकारले गर्छ ढुक्क हुनुस् ।’

बाढी प्रभावितसँग मन्त्री राईले भने,-‘ सिडियो साब, प्रदेश र राष्ट्रिय सभाका माननीयहरु पनि यहिँ हुनुहुन्छ तपाईहरुले तत्काल यो गाउँको पुननिर्माणको ठोस् योजना ल्याउनुस् म केन्द्रबाटै पहल गर्छु ।’ काठमाडौं फर्किए लगत्तै थामेको पुनर्निर्माणका लागि पहल गर्ने आश्वासन दिँदै मन्त्री राईले प्रधानमन्त्री केपि शर्मा ओलीले समेत चासो लिएकाले मन्त्री परिषद्बाटै विशेष राहत तथा पुनस्थापनाको निर्णय गराउन आफुले सक्दो पहल गर्ने बप्रतिबद्धता व्यक्त गरे।

शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीका कारण थामेका २० घर तथा होटल लज,एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ भने खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ।

यसैबीच,प्रभावित क्षेत्र रहेको खुम्बु पासाङल्हामु गाउँपालिले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय निकायबाट ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार प्रभावित परिवारलाई राहत प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्