खुम्बुको थामे क्षेत्रमा लेदोसहित भीषण बाढी: तीन घर बगे, ७ जनाको उद्दार



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित आएको भीषण बाढीले तीन वटा घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुले दिएको प्रारम्भिक जानकारी अनुसार बाढीले तीन वटा घर बगाएको छ भने ४, ५ वटा घर जोखिममा छन्। त्यस्तै एउटा होस्टेल पनि जोखिममा रहेको छ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको टोलीले ६,७ जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। बाँकी थप विवरण आउन बाँकी छ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको यकिन भइसकेको छैन। जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी, जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकाले पनि सूचना जारी गरेर थामे क्षेत्रमा आएको बाढीका कारण केही घर बगाएको सूचना प्राप्त भएको जनाएको छ। गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्