थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयमा गुणस्तर वृद्धिका लागि कुनै कमि हुन नदिइने

सोलुखुम्बु।स्थापनाको छोटो समयमा गुणस्तरीय प्रतिफल हाँसिल गर्न सफल थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयमा यस बर्ष भदौ ६ गतेसम्म भर्ना गर्न सकिने भएको छ।

प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (CTEVT)ले प्रवेश परीक्षाका लागि एक हप्ता समयावधि थप गरेसंगै भदौ ६ गतेसम्म भर्ना गर्न सकिने भएको हो।विभिन्न सेमेस्टरमा डिप्लोमा इन सिभिल इन्जिनियरतर्फ उत्तीर्ण विद्यार्थीको नतिजालाई आधार मान्ने हो भने कोशी प्रदेशको पहिलो र देशमा नै उत्कृष्ट १० भित्र पर्न सफल थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा सञ्चालित यो शिक्षालय सोलुखुम्बु जिल्लामै पहिलो पटक सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालय हो।
जिल्लाका विभिन्न पालिकासङ्गै सिरहा,सप्तरी लगायतका क्षेत्रबाट समेत अध्ययनका लागि विद्यार्थीहरु आउने सो शिक्षालयमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरी न्यून आय भएका विद्यार्थीलाई अध्ययन गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो।
थुलुङ दुधकोशी गाउँपालिका प्रबक्ता भोजराज कार्कीका अनुसार यस शिक्षालयबाट उत्पादित जनशक्तिलाई विश्वबजारमा शसक्त प्रतिस्पर्धा गर्न सक्ने बनाउन कुनै पनि कमि हुन नदिने निर्णय पनि गरिएको छ ।
गाउँपालिका अध्यक्ष तथा शिक्षालय सञ्चालन समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको प्रबक्ता कार्कीको भनाई छ ।

