पहिरोमा पुरिएर खोटाङमा एक शिक्षिकाको मृत्यु

खोटाङ।पहिरोमा पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु भएको छ।

खोटाङको रावाबेंसी गाउँपालिका-३, लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको बिहीबार बिहान विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो। लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत शिक्षिका नेवार वडा कार्यालय नजिकै पहिरोमा पुरिएकी हुन्।
करिब १०० मिटर माथिबाट सडकको डिल खस्दा शिक्षिका पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले बताए। स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएकी हुन्।शिक्षिका नेवारसँगै हिँडिरहेका आफन्त भने भागेर बाँच्न सफल भएको बताइएको छ ।
पहिरो जाने जस्तो देखेपछि स्थानीय बासिन्दाले त्यो बाटो नहिंड्न सुझाएका थिए। तर स्कूल पुग्ने हतारमा रहेकी उनी फर्केर अर्को बाटो जान नमानेको स्थानीय बासिन्दाले बताए। उनले केही महिनापछि अनिवार्य अवकाश पाउँदै थिइन्।

