थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता भएको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राईबीच आज मंगलबार उक्त सम्झौता भएको हो ।

मंगलबार बसेको कार्यपालिका बैठकमा उक्त सम्झौता भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै सोही बैठकले विद्यालय सहायक तथा विद्यालय सहयोगी कर्मचारी व्यवस्थापन कार्यविधि, २०८१ पारित गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले थुलुङ दुधकोशी गाउँपालिकाको स्थानीय दररेट, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

यस्तै सार्वजनिक सडकमा परेको निजी जग्गाको लगतकट्टा कार्यविधि, २०८१ को दफा ३ र मालपोत नियमावली, २०३६ (५) (ग) बमोजिम गाउँपालिका लगतकट्टा समिति र सोही कार्यविधिको दफा १० बमोजिम गाउँपालिका अध्यक्ष असिम राईको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

गाउँपालिका अध्यक्ष असिम राईले पालिकामा कार्यरत कर्मचारीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । नागरिकलाई केन्द्रमा राखेर नियम कानुन बमोजिम गुनासोरहित ढंगबाट काम गर्न निर्देशन दिदै अध्यक्ष राईले सेवा प्रवाह सम्बन्धि कम्जरी भएको प्रमाणित भएमा कारबाही गरिने समेत चेतावनी दिनुभयो ।

शाखा प्रमुखसहित नौ वटै वडाका विभिन्न करार पदमा कार्यरत कर्मचारीलाई कार्यालयमा बोलाएर अध्यक्ष राईले कार्यसम्पादन मुल्याङ्कनको आधारमा केही कर्मचारीको करार सम्झौता नगरिने भन्दै राम्रो काम गर्ने कर्मचारीलाई धन्यावद समेत दिनुभयो । कर्मचारीकै कारण सरकारको काम कार्वाही सम्बन्धि प्रश्न उठ्ने भन्दै उहाँले कसैले पनि नकरात्मक टिप्पणी हुने गरि काम गर्न नहुने बताउँनुभयो । छिटो छरितो तथा सहज ढंगबाट सेवा प्रवाह भएको खण्डमा मात्रै नागरिकले सरकारको अनुभुति गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्