उपमहासचिब शर्माले लगाए अध्यक्ष प्रचण्डमाथि संगीन आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि केही संगीन आरोप लगाएका छन् ।

पार्टीको जारी स्थायी समिति बैठकमा‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठ र ‘फुटबारे चलाइएका हल्ला’ शीर्षकमा थप २ पृष्ठ लामो प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टीलाई आम जनताबाट अलगथलग पार्ने देखि माथि देखि तलसम्म परिवारवाद हाबी गराउने कामसम्म भएको आरोप लगाएका हुन्।
शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् ।
‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन,माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने । शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए ।
‘पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो,’ उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नुपर्ने, धाक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’ सरकारमा रहँदा अध्यक्ष प्रचण्डले बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुष्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको उनको आरोप छ ।
पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने भन्दै ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’प्रस्ताव पनि शर्माले बैठकमा राखेका छन।
‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’शर्माले लेखेका छन् ।

