बङ्गलादेशका हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक : नेपाली कांग्रेस




काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसको बङ्गलादेशका अल्पसङ्ख्यक हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएको बताएको छ ।

कांग्रेसले शुक्रवार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।

यसका बीच कांग्रेसले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न बङ्गलादेशको नयाँ सरकार सफल हुने विश्वास लिएको जनाएको छ । ‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक विशेषगरी हिन्दू र बौद्ध समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने कांग्रेसले विश्वास लिएको छ,’निर्णयमा भनिएको छ ।

यस्तै कांग्रेसले बङ्गलादेशको अन्तरिम सरकारका ननियुक्त प्रमुख मुहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त पनि गरेको छ ।

कांग्रेसले उक्त अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बङ्गलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको जनाएको छ ।

लोकतन्त्र र शान्तिप्रेमी बङ्गलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने कांग्रेसको विश्वास रहेको पार्टीको निर्णयमा उल्लेख छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा भएको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्