बागमती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त,सपथ भोलि
मकवानपुर । बागमती प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेता बहादुर सिं लामा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मंगलबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायका पहिलो मुख्यमन्त्री बनेका छन् । लामा गत निर्वाचनमा नुवाकोट २ (क) बाट प्रदेश सभासदस्य निर्वाचित भएका हुन्।
२०२७ साल कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा जन्मिएका लामाले सामान्य परिवारबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी २०७० सालमा संविधानसभा सदस्य, २०७४ मा प्रतिनिधिसभा सदस्य र २०७९ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। शेरबहादुर देउवाका विश्वासपात्र मानिने लामा कांग्रेस वृत्तमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनले हालै बागमती प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। विकासप्रेमी नेताका रूपमा परिचित लामाप्रति जनताको ठूलो अपेक्षा रहेको छ।
लामाले बुधबार पद तथा गोपनियताको सपथ लिने र मन्त्रीमण्डल समेत बिस्तार गर्ने तयारी गरेका छन्।नेकपा एमालेको समर्थनमा लामाले सोमबार मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए।

