गृहमन्त्रीलाई राप्रपा प्रमुख सचेतक शाहीको प्रश्न- ‘खोल्नुहोस् न फाइल कसले रोकेको छ ?’
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई झुठा आश्वासन देखाएर जनतालाई भ्रमित नपार्न आग्रह गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले फाइल खोल्न कसैले नरोकेको र अझै अझै सरकारमा ७ दिन रहने भएकाले फाइल खोल्न आग्रह समेत गरे। शाहीले भने-‘फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ? यो जनतालाई कति भ्रमित पार्ने हो?’
उनले लडाकु शिविर घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए,जीबी राईलाई पक्राउ गरेर ल्याउन आग्रह गरे ।
उनले सुकुम्बासीहरूलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको उल्लेख गरे । उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए ।
प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने उल्लेख गरे ।

