किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउन जरुरी : कांग्रेस केन्द्रीय सदस्य शेर्पा
सोलुखुम्बु।नेपाली कांग्रेस भातृ संगठन नेपाल किसान महासंघ थुलुङ दुधकोशी वडा नं २ ले धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ।

असार १५ गते अर्थात राष्ट्रिय धान दिवसको अवसरमा शनिबार कांगेलको माथिल्लो बाहुण्डीमा महासंघले धान रोपाइँ कार्यक्रमको आयोजना गरेको हो।नेपाली कांग्रेस वडा कार्यसमितिको संयोजनमा सम्पन्न भएको धान रोपाइँमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा,नेपाली कांग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला लगायत जिल्ला तथा स्थानीय कांग्रेस नेताहरुसहित कृषकहरुको सहभागीता रहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।
केन्द्रीय सदस्य शेर्पा लगायतले पनि सो अवसरमा केही क्षण किसानहरुसंगै छमछम्ति धान रोपेको वडा सभापति भीम बहादुर बस्नेतले बताए।

त्यस अवसरमा केन्द्रीय सदस्य शेर्पाले पछिल्लो समय युवाहरु धमाधम वैदेशिक रोजगारीका लागि बिदेशिन थालेपछि गाउँका उर्बरभूमी बाँझिन थालेकोले भात खानका लागि चामलसमेत आयात गर्नुपर्ने स्थिति उत्पन्न भएको बताउँदै सरकारले कृषकहरुलाई कृषि पेशामा आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनु आवश्यक रहेको बताएका थिए।

केहि बर्ष अघिसम्म धान निर्यात गर्दै आएको हाम्रो देश अहिले करोडौंको धान आयात गरिरहेको छ,शेर्पाले भने-‘उर्बरभूमी बाँझै छोडेर खाद्यान्नमै परनिर्भर बन्नुपर्ने स्थितिको अन्त्य गर्न संघ,प्रदेश र स्थानीय सरकारले कृषकहरुलाई प्रोत्साहन गर्ने खालका प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ।’

