कार्यसम्पादनलाई परिणाममुखी बनाउन प्रहरीलाई प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले नागरिकप्रति उत्तरदायी,मानवअधिकारप्रति संवेदनशील,निष्पक्ष,व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन सक्ने बताउनुभएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं)समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गर्दै दाहालले भन्नुभयो,’तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु।
वहाँले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार प्रदान गर्नुभयो। साथै उहाँले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उहाँले उच्च प्रशंसा गर्नुभयो ।
सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो,-‘अनेकों चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गर्नुभएको छ। राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । प्रहरी कर्मचारीहरूको वृत्तिविकासलाई न्यायसंगत र सेवा सुविधालाई समायानुकूल बनाउन नीतिगत, कानूनी व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवा केवल रोजगारी मात्रै नभई एउटा विशिष्ट जीवनशैली भएको चर्चा गर्दै यस सेवामा आवद्ध हुन उच्चानुशासन पवित्र निष्ठा, अदम्य साहस, निरन्तर सिकाई र अविचलित समर्पणको आवश्यकता रहने बताउनुभयो । अपराधको अन्तर्राष्ट्रियकरण, बढ्दो आप्रवासन,संगठित अपराधको वृद्धि एवम् बदलिँदो संस्कृतिले उब्जाएका नवीन चुनौतिहरूको सामना गर्न समायानुकूल सक्षम, सक्रिय, व्यावसायिक प्रहरी अधिकृतहरू आज यस समारोहमाझ दीक्षित भएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी निरीक्षकहरूलाई एउटा मन्त्र सँधै मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेका अधिकारहरूलाई शक्तिको रूपमा होइन यसलाई राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नु हुनेछ ।’
समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो। file foto

