सगरमाथा आरोहणमा महिलातर्फ नयाँ कीर्तिमान कायम
काठमाडौँ।नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन्।

वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहिवार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान बताएकी हुन्।
सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको जनाइएको छ।
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन्। पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कीर्तिमान फुञ्जोले तोडेकी हुन्। यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० घण्टामा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए।

