पञ्चनका आगलागी पीडितका लागि संकलित ५ लाख बढी रकम अध्यक्ष राईद्वारा हस्तान्तरण
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका वडा नं ३ पञ्चनका अग्नि पीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

पञ्चन अग्निपिडित सहयोग संकलन अभियानमार्फत संकलन भएको ५ लाख २९ हजार ४५१ रुपैयाँ गाउँपालिका अध्यक्ष अशिम राईले सोमबार पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको सहयोग संकलन समितिका सदस्य एबम कालिकादेवी माबिका प्रधानाध्यापक बिष्णु ढुंगेलले जानकारी दिए।
सहयोग संकलन समितिको बैठकको निर्णय अनुसार वडा कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राईले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
अध्यक्ष राईले संकलित रकमबाट पूर्ण क्षतितर्फ पूर्ण बहादुर अधिकारी, हस्तिमाया राई,बडिसुवा राईलाई प्रतिपरिवार नगद एक लाख एक सय,आंशिक क्षतितर्फ निशान राई,दिल बहादुर राई,पारासमणी राई, बुद्धमाया सार्कीलाई प्रतिपरिवार नगद २५ हजार हस्तान्तरण गरेको उनले जानकारी दिए।
उता,पशु तथा घाँसगोठ क्षति भएका काली बहादुर अधिकारीलाई ५ हजार पचपन्न, सेतीदेवी कार्कीलाई ४ हजार,बुद्धि बहादुर कार्कीलाई ४ हजार,वसन्त राईलाई ४ हजार र लाखधन राइलाई ४ हजार उपलब्ध गराईएको छ।
आगलागीमा परेर घाइते भएका हिरालाल विकलाई ४ हजार,सन बहादुर सार्कीलाई ४ हजार र राजन कुमार राई (मिर्गौला प्रत्यारोपण १ लाख एक सय प्रदान गरिएको ढुंगेलले जानकारी दिए।
राहत हस्तान्तरण कार्यक्रम पछि संकलित रकमको बैंक स्टेटमन्ट र आवश्यक सम्पूर्ण कागजात वडाध्यक्ष इन्द्रमणी दाहाललाई हस्तान्तरण गरेको उनले बताए।गत बैशाख १९ गते आगलागी हुंदा पञ्चनका ९ घर प्रभावित हुन पुगेका थिए।

