संसदीय छानबिन समितिको कार्यदेशमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अनिश्चित,राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ । सहकारी ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन बनेको कार्यदलको बैठक फेरि बसेको छ।

दिउँसो २ बजे कांग्रेसले आन्तरिक छलफलका लागि भन्दै केही समय माग गरेपछि स्थगित भएको बैठक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः सुरु भएको हो।
करिब पाँच घण्टाको छलफलका क्रममा सत्ता पक्ष र विपक्षी दल सहभागी कार्यदल समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानको नाम उल्लेख नगर्ने तर उनीसँग जोडिएका सहकारीको नाम राख्ने विषयमा दलहरु सहमतिमा पुगेका थिए।
त्यसलाई अन्तिम रुप दिनुअघि आफ्नो दलमा छलफल गर्नुपर्ने कांग्रेसको मागपछि केहीबेर रोकिएको बैठक फेरि सुरु भएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए।
आन्तरिक छलफलपछि कांग्रेस लामिछानेको नाम उल्लेख नै गर्नुपर्ने निष्कर्ष लिएर कार्यदल बैठकमा सहभागी हुन गएको सांसद रामहरि खतिवडाले जानकारी दिए।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहितका नेताहरुसँग छलफल गरेपछि कार्यदलमा रहेका सहमहामन्त्री जीवन परियार र प्रमुख सचेक रमेश लेखक कार्यलको बैठकमा गएका हुन्। लामिछानेले बुटवलको सुप्रिम, पोखराको सुर्दशन सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएको तथ्य बाहिर आएको छ।
सत्ता पक्षीय दलहरु भने छानबिन समितिको कार्यादेशमा लामिछाने नाम राख्न नहुने पक्षमा छन्। सत्ता पक्ष लामिछानेको नाम राख्नै नहुने र विपक्षी कांग्रेस राख्नुपर्ने अडानमा पुगेपछि आइतबार पनि संसद खुल्ने संभावना कम देखिएको छ।
लामिछानेनमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध पार्दै आएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजे सारिएको थियो।
४ बजेसम्म बस्न नसकेपछि पुनः ४ः३० बजेलाई तोकिएको छ।उता,राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ। प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि बैठक सोमबारसम्म स्थगित गरिएको हो।

