मन्त्री चौधरीद्वारा सुनसरी औराबनीका २० परिवार भूमिहिनलाई घर हस्तान्तरण



सुनसरी। सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।
त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो ।

नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताउनुभयो ।अझै पनि हजारौँ घर बनाएर विपन्न परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले संघीय सरकारले लामो समयदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी लगायतका आधारभूत सुविधाहरू उपलब्ध गराउनका निम्ति पनि आफूले पहल गर्ने उहाँको भनाई थियो । ‘सामुदायिक स्कुलहरू मर्मत सम्भार गर्ने, बनाउने कार्यक्रम कोशी प्रदेशमा छन् । तथापि यस क्षेत्रमा कम्तीमा पनि १० वटा स्कुल बनाउनुपर्छ भनेर मैले अवधारणा लिएको छु । यसमा दातृ निकायले सहमति पनि जनाएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘कसरी हुन्छ यस क्षेत्रमा विद्यालय बनाउन म पहल गर्नेछु । मन्त्रालयको तर्फबाट विद्यालय बनाउन अग्रसरता लिनेछु । विद्यालयका निम्ति केही रकम तत्काल उपलब्ध गराउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्