अदालतका शाखा अधिकृत बलात्कार आरोपमा पक्राउ
काठमाडौँ।काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् ।

आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गजमेरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरीको भनाइ छ ।
(सांकेतिक तस्बिर)

