आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : प्रधानमन्त्री प्रचण्डले दिए बधाई तथा शुभकामना



काठमाडौं। आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको छ ।

दिवसको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विशेष कार्यक्रम गर्दैछ । मन्त्रालयले जेष्ठनागरिकका पक्षमा काम गर्ने व्यक्ति र संस्थालाई सम्मान  एवं पुरस्कार वितरण गर्न लागेको छ ।

मुलुकमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतीहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको बताएका छन् ।

उनले सरकार  एकल तथा असहाय ज्येष्ठ नागरिकको उचित हेरचाहको प्रबन्ध गर्न निरन्तर लागिपरेको  बताएका छन् ।

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् ।  

उनले जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्ने सम्पूर्ण ज्येष्ठ नागरिकप्रति बधाइ तथा शुभकामना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्