आम जनता पार्टीले घेराउ गर्‍यो भन्सार बिभाग, ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग



काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ । 

शनिबार बसेको आजपाको सम्पर्क मञ्चको राष्ट्रिय भेलाले यस प्रावधानको विरोधमा आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय गरेसंगै पुनः भन्सार बिभाग घेराउ गरिएको पार्टी सचिब अरुण घिसिङले जानकारी दिए।आजपाले गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो।त्यतिबेला चाडपर्वका कारण आजपाले माग सम्बोधन नहुँदै अर्को निर्णय नहुँदासम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको थियो ।

सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने आजपाको धारणा छ ।

देशको राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने भए पनि राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको अध्यक्ष प्रभु साहको भनाइ छ । सरकारी राजस्वलाई लुट्न गलत कानुनी प्रावधान निर्माण गरिएको साहले दाबी गरे । भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ ।

यसरी देशको संसद्लाई छलेर नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व सङ्कलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरूको निजी खातामा गइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्