पर्यटन प्रबर्द्धनका लागि माप्य दूधकोशीमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ शुभारम्भ



सोलुखुम्बु।माप्य दूधकोशी गाउँपालिकामा‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ ।

गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो।माप्य दूधकोशी–५,सिलगुढी डाँडामा शुक्रबार आयोजित एक समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी,गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरि बाँस्तोलाले संयुक्तरूपमा उक्त पदमार्गको शुभारम्भ गर्नुभएको हो ।

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई यहाँ भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्ने बताउनुभयो । उहाँले सोलुखुम्बुबाट पर्यटन रोयल्टी मात्रै देशले लिन तर सोलुखुम्बुलाई बजेट विनियोजनमा बिभेद गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

टानका अध्यक्ष निलहरी बास्तोलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा नयाँ पदमार्ग निर्माण गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ । सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक १० लाख पर्यटक भित्र्याउन नसक्नु दुःखद् कुरा भएको उहाँको भनाई छ । सरकारलाई आज नेपालमा कति ट्रेकिङ गाइड छन् भन्ने कुरासमेत थाहा नहुँदा पर्यटन व्यवसायी मारमा परेका बास्तोलाको भनाइ थियो । अध्यक्ष बाँस्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पदमार्ग निर्माण संयोजक तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले यो नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताउनुभयो।नयाँ निर्माण गरिएको पदमार्ग चार रात पाँच दिनको हुने माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो ।

सिलगुढीबाट, घुम्नेमेरा, कुधम, योतेलमा, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभिरलगायतका स्थानमा पदयात्रा गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समय माप्य दूधकोशी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको भन्दै यसलाई थप प्रभावकारी रूपमा अघि बढाउँदै लैजाने बताउनुभयो ।

नयाँ पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिने स्थानीय पर्यटन व्यवसायी मानवीर खालिङले बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विश्व कीर्तिमान आरोही शेर्पा र माउण्टेन गाइड एशोसिएसन अफ नेपाललाई सम्मान गरिएको छ।(साभार:सोलु एफएम)

प्रतिक्रिया दिनुहोस्