शिक्षा क्षेत्र योजना निर्माण गर्ने सोलुखुम्बुको पहिलो गाउँपालिका बन्यो थुलुङ दुधकोशी
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको शिक्षा क्षेत्र योजना हस्तान्तरण गरिएको छ।

रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित ३ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम समापन कार्यक्रममा रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका अध्यक्ष असिम राईलाई पाँच वर्षे पालिकाको शिक्षा क्षेत्र योजना हस्तान्तरण गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो। शिक्षा क्षेत्र योजना पालिका प्रमुखलाई हस्तान्तरण गर्दै भिम बोगटीले थुलुङ दुधकोशी गाउँपालिका शिक्षा क्षेत्र योजना निर्माण गर्ने सोलुखुम्बु जिल्ल्लाकै पहिलो पालिका भएको बताउनु भयो साथै छिट्टै कार्यपालिकाबाट अनुमोदन गरी योजनालाई कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो।
सोलुखुम्बु जिल्लाको ७ ओटा स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माणमा रीड नेपालले प्राविधिक सहयोग गर्दै गत वर्षदेखि नै निर्माण प्रक्रिया अगाडी बढाएको थियो जसमा सम्पूर्ण प्रक्रिया पुरा गरेर फाइनल शिक्षा क्षेत्र योजना निर्माण सम्पन्न गर्ने पहिलो पालिका थुलुङ दुधकोशी बनेको हो।
शिक्षा योजनालाई ग्रहण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले समाज परिवर्तनको मुख्य आधारशिला नै शिक्षा भएकोले आफ्नो अबको प्रमुख प्राथमिकता शिक्षा रहेको बताउँदै त्यही अनुरुप शिक्षा योजना निर्माण गरिएको र यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो । विभिन्न विज्ञहरु र शैक्षिक सरोकारवालाको सहभागता,विभिन्न छलफल,अन्तरक्रिया र कार्यशालाबाट योजना निर्माण गरिएकोले शिक्षा योजना उत्कृष्ट बनेको दाबी गर्नुभयो।योजना कार्यन्वयनमा अभिभावक, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण सरोकारबालाको उत्तिकै हात रहेको बताउदै सबैलाई सक्रिय भएर लाग्न आग्रह गर्नभयो।
तालिम समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष सबिता राईले सिकेका सिप व्यवहारमा उतार्न र आफ्नै सन्तान सम्झेर शिक्षण गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो।
तालिममा पालिका भित्रका ९६ जना शिक्षक तथा प्रअहरुको उपस्थिति रहेको थियो भने सहजीकरण रीड नेपालका प्रशिक्षकहरु केशव देव गिरी, सुजाता राई, अभिषेक विक्रम शाह, विष्णु प्रसाद उपाध्याय र जुनु हिराचनले गर्नु भएको थियो तालिममा एकीकृत पाठ्यक्रम अवधारणा, शिक्षण सिकाइ योजना निर्माण अभ्यास, व्यवहार कुश सिप, विद्यार्थी सिकाइ मूल्यांकनलाई फोकस गरिएको आयोजकले जनाएको छ कार्यक्रममा सहभागी मध्येबाट जीवनज्योति मा विका प्रअ प्रभुराम बस्नेत र उर्मिला बनले तालिममा सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए !

