शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु मेहनती र उर्जाशील हुनुपर्छ : अध्यक्ष राई



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले शैक्षिक गुणस्तर सुधार अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।

गाउँपालिकाको मुक्लीस्थित वीरेन्द्रोदय माध्यमिक विद्यालयमा सुरु एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिमको उद्घाटन गर्दै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो।प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि शैक्षिक सुधार आवश्यक भएकाले गाउँपालिकाले बेला बेला महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप संचालन गर्दै आएको जानकारी पनि वहाँले दिनुभयो। अध्यक्ष राईले शैक्षिक गुणस्तर वृद्धिका शिक्षकहरु मेहनती र उर्जाशील हुनुपर्ने बताउँदै पाठ्यक्रम शैक्षिक क्रियाकलापको मार्गदर्शन भएकोले शिक्षण क्रियाकलापलाई व्यवहारिक र उपलब्धीमूलक बनाउन शिक्षकहरुले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक र अनिवार्य रहेको धारणा राख्नुभयो।

थुलुङ दुधकोशी गाउँपालिका भित्रका आधारभूत तह कक्षा १-३ मा शिक्षण गर्ने शिक्षक र विद्यालयका प्रद्यानाध्यापकहरु गरि ९६ जना शिक्षकहरुको सहभागीता रहेको तालिममा रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी, शिक्षा  विकास अधिकृत सुजाता राई, विष्णु प्रसाद उपाध्याय, अभिषेक विक्रम शाह र जुनु हिराचनले सहजीकरण गरिरहनु भएको बताईएको छ।

तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार कुशल सिप, एकीकृत शिक्षण सिकाइ सहजीकरण योजना निर्माण तथा अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकनलगाएतका विषयमा  जोड दिने रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्